जगन्नाथ गौतम । नेपाल विश्व सहयोग संघको आवहानमा संघको कोलोराडो च्याप्टरले संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्युदण्डको सजाय भोगिरहेका निर्दोस नेपाली नागरिक अमर बहादुर बमलाई बचाउने अभियान चलाएको छ ।
संयुक्त अरब इमिरेट्समा एकजना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । पेशाले सवारीचालक रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै गर्दा पक्राउ परेका हुन् । नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले लिखित रूपमा जनाएपनि अहिलेसम्म हजारौ पटक मर्दै बाँचिरहेका छन् । उनलाई जेलमा भेट्न जानेहरूसँग आफू कैयौं राती कहीले गोली हानेर मारेको कहीले फाँसी दिएको सपना देख्ने गरेको बताउने गर्छन् र आफू निर्दोष छु भनेर भल्भल्ती आसुँ झार्छन ।
निज बमले जनाए अनुसार बिवाह गरेको लगत्तैपछि कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्याएका थिए । भिजिट भिसामा दुबई आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए । बमले दिएको जानकारी अनुसार जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्याए । उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले मान्छे मारेका छौं, छिटो भाग नभए पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने शहरमा पुग्दा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । कानुनी उपचार नपाएका बमले अपिल गरेमा वा नेपाल सरकारले कुट्नैतिक पहल गरेमा उनी छुट्छन भन्नेमा सबैको विश्वास पाइए पनि हाल सम्म उनको लागि ठोस कार्य हुन सकेको छैन ।
नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय निर्देशक जगन्नाथ गौतमको प्रमुख आतिथ्यमा कोलोराडोमा अमर बचाउ कार्यक्रम एक समारोह बीच सम्पन्न भयो । उक्त कार्यक्रममा कोलोराडो स्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि र बरिस्ठ महानुभावको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गदै जगन्नाथ गौतमले मानव अधिकारको बारेमा प्रकाश पार्दै जिवन बचाउनु आँफैमा एक महान कार्य हो, त्यसमा पनि एक नेपालीलाई विदेशको माटोमा मृत्युको मुखबाट बचाउन सकियो भने हामी सबैको लागि गर्वको कुरा हुनेछ तसर्थ निर्दोस नागरिकलाई बचाउँ भन्दै सो को लागि सहयोगको लागि अपिल गर्नुभयो । नेपाल विश्व सहयोग संघका कोलोराडो च्याप्टरका सभापति कमल कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सभापति कार्कीले यस कार्यको लागि सहयोग गर्न सबै संग अनुरोध गर्नुभयो तथा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो।
http://www.nepal24hours.com/np/archives/5409